भएभरका सोंचहरू कोचेर
कैलेसम्म दिवास्वप्नको भोटे ताल्चा
ठोक्नु पर्ने हो कुन्नि ?
लाग्छ,कहिलेकाही
आशा र प्राप्तिको घमासान युद्धमा
यो जीर्ण शरीर यसै ढली जाने पो हो कि ?
अनि……..फेरि कतैबाट
शान्त्वनाको शंखनाद भए झैं भान हुन्छ र
यो मन मस्तिष्क फेरि
उत्ताउलिन्छ बाँच्नु छ अँझै अनि केही गर्नु छ अँझै भन्ने
मौन जुलुस लिएर ।
हो……यहिरहेछ जीवन
अनि जिजीविषाको अमीट लाहाछाप
जस्लाई अंगालेर अनि संगालेर
बाँच्न प्रेरित बन्छ मानव चोला
आखिर…..जन्म लिएपछि
हरेक रंगहरूको समिश्रणमा
घुलिनु नै पर्ने रहेछ
ती दुख/सुख/प्राप्ति/अभाव/पीडा या छट्पटी
जेसुकैका रंग हुन्,
मनाउनै पर्छ ती रंगहरूको होली
मनभित्रको अभीष्टलाई
पूर्ण गर्ने दाउमा,
लड्दै/उठ्दै/बाँच्दै/मर्दै भएपनि
एकमुट्ठी सासलाई कैद गर्नै पर्छ
र…….फेरि यो खण्डहर झैं मथिंगलमा
उस्तै/उस्तै आशा र उदेश्यका खाली थुन्चेहरू
थन्क्याउनै पर्छ,
कुनैदिनभरिने आशामा !
विधा/श्रेणी : कविता
रचना संख्या : 1
प्रकाशन मिति : June 15, 2016 -
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला