८ पटकको उपाधि बिजेता ब्राजिलले अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेको छ ।
ब्राजिलियन प्रशिक्षक डुंगाले अप्रत्यासित रुपमा नेइमार, थियागो सिल्भा, डेभिड लुईज लगायतका खेलाडीलाई टोलीबाहिर राखेका थिए । नेइमार रियो ओलम्पिकको तयारीमा रहेकाले टोलीमा नराखिएको जनाइएको छ । निरन्तरको खस्कँदो प्रदर्शन गरिरहेको ब्राजिलका स्तर उकास्न प्रशिक्षक डुंगाले गरेको यो परिक्षणपनि सफल हुन सकेन ।
ब्राजिलले फुटबलमा इक्वेडरसँग अहिलेसम्म हार्नुपरेको छैन । खेल बराबरीमा सकिएको पनि यो दोस्रो पटक हो । १० पटक ब्राजिलले खेल आफ्नो पक्षमा पारेको छ ।
यसअघि आजै बिहान भएको यसै समूहको अर्को खेलमा पेरुले हाइटीलाई एक शून्य गोलले हराउन सफल भयो । पेरुका लागि खेलको ६१औं मिनेटमा स्ट्राइकर पाउलो गुएर्रोले गोल गरेका थिए ।
दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका आयोजना भएको शतबार्षिकीको अवसर पारेर प्रतियोगिता पहिलो पटक अमेरिकामा आयोजना गरिएको हो । २४ दिनसम्म चल्ने प्रतियोगितामा अमेरिकासहित १६ मुलुकका टोलीहरुको सहभागिता छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला