सरकारले आइतबारदेखि घरमै बसेर पासपोर्ट अर्थात राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था मिलाएको छ । आजैबाट राहदानी विभागको वेबसाइटमा लगइन गरेर जहाँसुकैबाट आवेदन दिन सकिनेछ ।
आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अनलाइनबाटै आवेदन दिने अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् ।
कसरी भर्ने फारम ?
राहदानी विभागको वेभसाइट खोल्ने वित्तिकै सबैभन्दा माथि अनलाइन पि्र-इनरोलमेन्ट लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ । त्यहाँ आवेदनका लागि आवश्यक विवरण जानकारी गराइएको हुन्छ । र, त्यही अनुसारको विवरण भर्नुपर्नेछ ।
सेवाग्राहीले अनलाइनबाट चारवटा फारम भर्नुपर्छ । तर, त्यसरी भरिएको विवरणलाई पछि विभागले एकपटक पुनः रुजु गर्नेछ
पासपोर्टका लागि आवश्यक पर्ने तपाईको फोटो विभागले आफैं खिच्नेछ र, यसरी खिचिएको फोटोको पैसा तिर्नुपर्दैन । फोटो खिच्न भने विभागमै जानुपर्छ ।
यसअघि फोटो बाहिर आफैँले खिचाएर लाने गरिन्थ्यो । यसरी खिचाइएको कतिपय फोटो काम नलाग्ने भएपछि सेवाग्राहीको सुविधाका लागि परराष्ट्रमै फोटो खिच्नुपर्ने व्यवस्था गरिएको हो ।
फोटो खिच्न जाँदा निवेदकलाई सँगै राखेर उसले अनलाइनमा भरेको विवरण रुजु गरिनेछ । र, त्यहीबेला सेवाग्राहीले राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसरी सेवाग्राहीले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइनबाट गर्न सक्नेछन् । त्यसपछि अनलाइनबाटै तपाईले बारकोट नम्बर पाउनु हुनेछ । फोटो खिच्न र पैसा तिर्न जाँदा त्यही कोड लिएर जानुपर्छ ।
उक्त कोड नम्बरका आधारमा विभागले तपाईंको फोटो खिच्छ, विवरण रुजू गर्छ अनि काम अघि बढाउँछ ।
यसो गर्दा राहदानीका लागि बाहेक सेवाग्राहीले अन्य पैसा तिर्नुपर्दैन । विवरण नमिलेकै कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको पनि अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।
अहिलेसम्मको व्यवस्था
यसअघि राहदानीका लागि आवेदन दिन चाहने सेवाग्राहीले अनलाइनबाट र्फम डाउनलोड गरी आफैं भर्नुपर्दथ्यो । यसो गर्दा विवरण नमिल्ने, केरमेट हुने र लेखाइसमेत नमिल्ने जस्ता समस्याले सेवाग्राही हैरान हुने गरेका थिए ।
त्यस्तै फोटो आफैँ खिचाउनुपर्दा फोटोको आधार, आकृति नमिल्ने उस्तै समस्या सेवाग्राहीले भोग्नु पर्दथ्यो । सबै विवरण मिलेपनि फारम दर्ता गराउन तीन ठाउँमा घण्टौ लामो लाइनमा बस्नुपर्ने समस्या थियो । सेवाग्राहीको भिड बढ्दा कार्यालयमा समेत काम गर्न असहज हुने गरेको महानिर्देशक थापाले बताए ।
अब अनलाइन फारम भरेर त्यहाँ प्राप्त बारकोड नम्बर बोकेर गएपछि विभाग आफैँले फोटो खिच्ने व्यवस्था मिलाएको छ । यसले गर्दा फोटोको आकार र आकृति नमिल्ने समस्याको अन्त्य हुनेछ ।
त्यस्तै फार्म भर्नका लागि दिनभर लाइन बस्नुपर्नेछैन । फुर्सदको समयमा जुनसुकै समयमा घरबाटै आवेदन दिन सकिनेछ । बाहिर फोटो खिचाउँदा र फारम भर्न लगाउँदा तिर्नुपर्ने अतिरिक्त पैसा पनि अब बचत हुने भएको छ । यसअघि राहदानी बाहेक थप प्रतिव्यक्ति चार सयसम्म तिर्नुपर्दथ्यो ।
जिल्लाको सिफारिस के गर्ने ?
सेवाग्राहीले जिल्लाको सिफारिस विना पनि अब राहदानीका लागि आवेदन दिन सक्नेछन् । तर विवरण रुजू गरेर फोटो खिच्न जाँदा भने जिल्लाको सिफारिस लिएर जानुपर्ने विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । यसअघि जिल्लाको सिफारिस विना आवेदन समेत दिन पाउने व्यवस्था थिएन ।
यो सुविधा कहाँको लागि ?
अनलाइन सेवा सबै जिल्लाका लागि भने होइन । नेपालमा विभागबाट जारी हुने पार्सपोर्टका लागि मात्र अहिले यो व्यवस्था गरिएको हो ।
विदेशमा रहेका नागरिकका लागि भने थप सहज भएको छ । अमेरिकामा बस्ने नेपाली नागरिकले अमेरिकास्थित वासिंटन र न्युयोर्क महावाणिज्य दूतावासबाट यो सुविधा लिनसक्नेछन् ।
यस्तै हंगकंग, लण्डन, मलेसिया, कतार, कुवेत, रियाद, जेद्दास्थित नेपाली दूतावासमा पनि पासपोर्टका लागि अनलाइन आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । दूतावासमा आवेदन दिँदा पनि केन्द्रीय राहदानी बिभागको जस्तै प्रक्रिया अपनाउनु पर्छ ।
जिल्लालाई थप सुविधा
कार्यविधि अनुसार अहिले जिल्लामा राहदानीका लागि आवेदन दिएको ४५ दिनपछि मात्र राहदानी पाउने व्यवस्था छ । तर जिल्लाले निवेदन परेको करिब एक महिनामा पासपोर्ट उपलब्ध गराउँदै आएको थियो । अब भने जिल्लामा आवेदन दिनेले पनि बढीमा १५ दिनसम्ममा नागरिकता पाउने व्यवस्था मिलाइको महानिर्देशक थापाले बताए ।
चाँडो चाहिएको छ ?
यदि तपाईसँग आवश्यक सम्पूर्ण कागजपत्र छ भने १५ हजार तिरेर एकै दिनमा राहदानी (पासपोर्ट) पाउन सक्ने व्यवस्था विभागले गरेको छ । १२ हजार तिरेमा आवेदन दिएको भोलिपल्टै पासपोर्ट पाइनेछ ।
१० हजार रुपैँया तिरेमा आवेदन दिएको २ दिनपछि पासपोर्ट पाउन सकिनेछ । अन्य साधारण प्रक्रियाबाट आउँदा भने पुरानै प्रक्रिया अनुसार पाउनेछ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला