ताजा अपडेट:

मृगौलाको डायलासिस अब नि:शुल्क


सरकारले मृगौला रोगीलाई डायलासिस सेवा नि:शुल्क गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नि:शुल्क डाइलासिस सेवाको निर्णय गरेको जानकारी दिँदै सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले कार्यविधि बनाएर यो प्रक्रिया व्यवस्थित गरिने बताए ।
मृगौला रोगी र आफन्तले डायलासिसका लागि लाखौं रुपैयाँ खर्चंदै आएका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा समस्या पर्दै आएको थियो । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषि काफ्लेले सरकारको यो निर्णय निकै राम्रो भएको प्रतिक्रिया दिँदै कान्तिपुरसंँग भने, ‘तर सरकारले यसलाई कसरी कार्यान्वयन गर्छ भन्ने महत्त्वपूर्ण पक्ष हो ।’
डा. काफ्लेका अनुसार हालकै लागत हेर्ने हो भने पनि १० वर्षसम्म एक जनालाई डायलासिस गर्दा करिब २६ लाख रुपैयाँ खर्च लाग्छ । ‘मुद्रास्फितिका हिसाबले ३० लाखसम्म लाग्न सक्छ’, उनले भने, ‘अब तुरुन्त सरकारले डायलासिस गर्ने क्षमतामा समेत बढाउनुपर्छ । डायलासिस नि:शुल्क भएपछि यो सेवा देशव्यापी नभए नयाँ रोगीले मौका पाउँदैनन् ।’
मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठका अनुसार मुलुकमा प्रत्येक १० जनामध्ये १ जनालाई मृगौला रोग लाग्ने गरेको छ । नेपालमा बर्सेनि तीन हजार जनाको मृगौला फेल हुने गरेको छ भने हाल करिब एक हजार दुई जनाले डायलासिस गराइरहेका छन् । ‘नि:शुल्क डायलासिस भएपछि यो सेवा लिनेको संख्या अझ वृद्घि भई प्रत्यारोपणतिर आकर्षण घट्नेछ’, उनले भने, ‘प्रत्यारोपणमा आकर्षण कम हुँदा यसले मानिसको आयुमा समेत कमी ल्याउँछ र उत्पादनशीलता न्यून हुन्छ । त्यसैले नि:शुल्क डायलासिसभन्दा पनि प्रत्यारोपण नि:शुल्क हुन सकेमा अझ राम्रो हुन्थ्यो ।’ प्रत्यारोपण नि:शुल्क भएमा जीवनस्तर उच्चस्तरको रहने, आयु बढी हुने, बिरामीले सक्रिय जीवन बिताउन सक्ने र स्वस्थ नागरिकसरह बन्न सक्ने उनले बताए ।
सरकारले यसअघि मृगौला काम नलाग्ने भएकालाई सातामा दुई पटक गरी दुई वर्षमा दुई सय आठ पटकसम्म डायलासिस गर्न सहयोग गर्दै आएको थियो । त्यसका लागि अस्पताललाई पाँच लाख २० हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आएको थियो । यस्तै मृगौला प्रत्यारोपण खर्चबापत दुई लाख र औषधि खान एक लाख रुपैयाँ समेत सहयोग गर्दै आएको छ । विज्ञहरूका अनुसार सरकारले नि:शुल्क उपचार अन्तर्गत हालसम्म मृगौला रोगीका लागि सबै रोगभन्दा बढी ८ लाख २० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउँदै आएको छ ।
के हो डायलासिस ?
डायलासिस रगत शुद्घीकरण गर्ने कृत्रिम विधि हो । मृगौलाको कार्यक्षमता कमजोर हुँदा शरीरको विषाक्त पदार्थ पूर्णरूपमा बाहिर निस्किन सक्दैन । क्रिइटिनिन, युरिया लगायत विषाक्त पदार्थको मात्रा बढ्छ । यस्तोमा मेसिनको सहयोगले रगत सफा गर्ने प्रक्रिया नै डायलासिस हो ।
रगतमा संकलित हुने विषाक्त पदार्थ हटाउन र पानी तथा मिनरल्सको सन्तुलन वनाउन मृगौलाले काम नगर्ने अवस्थालाई किड्नी फेल्योर भनिन्छ । रगत परीक्षणमा युरिया र क्रिइटिनिनको बढ्दो मात्राले किड्नी फेल्योरलाई दर्साउँछ । बिस्तारै र स्थायी रूपमा मृगौलाको कार्यक्षमता घट्दै जाने क्रमलाई क्रोनिक किड्नी फेल्योर भनिन्छ ।
मृगौलाभित्र दसौं लाख ‘नेफ्रोन’ भनिने स–साना संरचना हुन्छन्, जसले रगतलाई शुद्घ पार्छ । फोहर पदार्थ र अतिरिक्त पानी हटाउँछ, जुन पिसाबका रूपमा शरीर बाहिर निस्किन्छ । मृगौलाले हार्मोन निर्माण गर्ने, पिसाब बनाउने, मिनरल अवशोषण गर्ने र अम्लको सन्तुलन राख्ने कामसमेत गर्छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal