ताजा अपडेट:

रियलको जितमा पुरानै कथा


परिस्थिति उस्तै रह्यो । सुरुमै गोल । लगातार आक्रमण । अतिरिक्त समयको खेल । अनि सनसनीपूर्ण अन्त्य । नतिजा पनि समान रह्यो । रियल म्याड्रिडले शनिबार राति एट्लेटिको म्याड्रिडलाई हराएर च्याम्पियन्स लिग जित्यो । तीन वर्षमा रियलले उही छिमेकी टिमलाई हराएर उपाधि जितेको यो दोस्रोपल्ट रह्यो । अब रियलले युरोपेली उपाधि जितेको कीर्तिमान ११ पल्ट पुगेको छ ।
संयोग कस्तो भने रियलले एट्लेटिकोले भन्दा ११ पल्ट नै बढी यस्तो उपलब्धि चुमेको हो । यसले पनि देखाउँछ, एउटै सहरका दुई क्लबको भिन्नता । सन् २०१४ को फाइनलमा यिनै दुई टिम भिड्दाको कथा फेरि देखियो । सानसिरोमा भएको खेलमा एट्लेटिकोले बदला लिन सकेन । त्यतिबेला रियलले सुरुमा गोल खाएको थियो । तर अन्त्यतिर गोल फर्काउन सफल रह्यो ।
अतिरिक्त समयमा रियलले तीन गोल थप्यो । यसपल्ट रियलले सुरुमा गोल गरेको थियो, एट्लेटिकोले अन्त्यतिर बराबरी गोल फर्कायो । त्यो १–१ को बराबरीले खेल टाइब्रेकरमा पुग्यो र पेनाल्टी सुटआउट रियलको पक्षमा ५–३ ले रह्यो । खेल सकिँदा क्रिस्टियानो रोनाल्डोले जर्सी फुकालिसकेका थिए । पूरा खेलमा उनी शान्त जस्तै देखिए । उनी चोट बोकेर पनि खेलिरहेका थिए ।
तर उनैलाई विजयी गोलको अवसर दिइएको थियो, जतिबेला जुवानफ्रान एट्लेटिकोको चौथो पेनाल्टीमा चुकेका थिए । चोटग्रस्त थिए अथवा थिएनन्, मतलब भएन । रोनाल्डोले मज्जाले पेनाल्टीलाई गोलमा परिणत गरे ।
र, उनले त्यसपछि जर्सी फुकाल्न बिर्सेनन्, टिमका बाँकी सदस्य भने उनीतर्फ दौडिए । गेराथ बेल हावामै उडे । मार्सेलो भने नाचे ।
लगत्तै रोनाल्डोले आफ्ना व्यवस्थापक जिनेदिन जिदानसँग खुसी साट्न बिर्सेनन् । जिदान रियलका पूर्वखेलाडी हुन् र यसक्रममा यी फ्रान्सेली स्टार व्यवस्थापक र खेलाडी दुवैका रूपमा च्याम्पियन्स लिग जित्ने सातौं भाग्यमानी बने ।
जितपछि रोनाल्डोले भने, ‘मैले जिदानसँग पाँचौं प्रहार मागेको थिएँ, किनभने म विजयी गोल चाहन्थें । यस्तै भयो पनि ।’
रोनाल्डोको गोलपछि भने एट्लेटिकोका खेलाडी मैदानको बीच भागमै ढले । त्यो स्वाभाविक पनि थियो । दुई वर्ष अगाडि एट्लेटिको युरोपेली उपाधिबाट केही सेकेन्ड मात्र टाढा थियो, तर हार बेहोर्नु पर्‍यो ।
दुई वर्षपछि फेरि फाइनल त पुग्न सफल रह्यो, तर त्यस्तै हार फेरि उही प्रतिद्वन्द्वीसँग बेहोर्न बाध्य भयो । एट्लेटिको व्यवस्थापक डिएगो सिमोनी आफ्ना खेलाडीलाई सम्झाउन व्यस्त थिए, तर उनी आफैं पनि दु:खी देखिन्थे ।
उनले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा यानिक फेरेरालाई प्रवेश गराएका थिए, उनैले ७९ औं मिनेटमा बराबरी गोल गरे ।
यसअघि १५ औं मिनेटमा सर्जियो रामोसले रियलका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफमा एन्टोनिया ग्रिजमन पेनाल्टीमा गोल गर्नबाट नचुकेको भए, खेलको कथा बेग्लै हुने थियो । तर सिमोनी भन्छन्, ‘दुईपल्ट फाइनल हार्नु असफलता हो । अब घर फर्केर पीडा बिर्सनुपर्छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal