ताजा अपडेट:

दुई किशोरी विद्यालय पोसाकमै स्थानीय शान्ति समितिको कार्यालय पुग्दा


दुई किशोरी विद्यालय पोसाकमै स्थानीय शान्ति समितिको कार्यालय पुग्दा मंगलबार दिउँसो पौने २ बजेको थियो । हातमा कलम बोकेर आएको देखेपछि कर्मचारीले दुवैलाई भित्र बोलाए । कक्षा १० मा पढ्ने निशा परियार र ८ की मनिषा परियारले उजुरी हाल्न आएको बताउँदा स्थानीय शान्ति समितिका सचिव किरण लामिछानेलाई पत्याउन गाह्रो भयो ।

दिदी निशा १५ र बहिनी मनीषा १३ वर्षका हुन् । सँगै आएका अधिकारकर्मी कृष्णप्रसाद अधिकारीले ‘द्वन्द्वकालमा अभिभावक गुमाएका किशोरी’ का रूपमा परिचय गराएपछि लामिछानेले उनीहरूलाई फर्म दिए । निशाले जानेअनुसारको फारममा लेखिन् । ‘दिउँसो
स्कुलमा । बिहानबेलुकी पढ्नुपर्छ । त्यही भएर हाफ छुट्टीमा आएको,’ निशाले भनिन् ।

मध्यमस्र्याङी जलविद्युत् परियोजनामा मजदुरी गर्दै आएका २७ वर्षका गोपाल परियार ०६० असोज १५ मा विद्रोही माओवादीले थापेको विद्युतीय धरापमा पर्दा निशा दुई वर्षकी थिइन् भने मनिषा ६ महिनाकी मात्र । घटनापछि आमा पूजाले घर छाडिन् । अन्तै विवाह भयो । ‘मलाई बुबाको याद छैन । तर, बुबा हुनुहुन्छ झैं लाग्छ,’ भावुक मुद्रामा निशाले भनिन् । उनले कुरा गरिरहँदा मनीषा एकोहोरो दिदीको आँखामा हेरिरहेकी थिइन् । भनिन्, ‘दिदी, छिटो जाऊँ, ढिला भयो ।’

उनीहरू दुवै बेंसीसहरस्थित विद्या विकास उच्चमाविमा पढ्छन् । पठनपाठन, बस्न र खान, लाउन बेंसीसहरको आदर्श महिला तथा बाल विकास केन्द्रले व्यवस्थापन गर्दै आएको छ । केन्द्रकी सचिव हुमा गुरुङका अनुसार निशालाई बाबुको निधन भएको चार महिना र मनीषालाई दुई वर्षपछि केन्द्रमा ल्याइएको हो । उनीहरूकी आमासँग २/३ वर्षदेखि सम्पर्क नरहेको गुरुङले जानकारी दिइन् ।

उदीपुर ४ खत्रीचौर (हाल बेंसीसहर नपा (१) को घरमा ८५ वर्षीय हजुरबा मात्रै रहेको निशाले बताइन् । आमालाई भेट्न मन लागेको बताउने मनीषाले फोनमा पनि बोल्न नपाएको बताइन् । मानव अधिकार वर्ष पुस्तक २००५ मा उल्लिखित विवरणअनुसार उनीहरूले उजुरी दिएका हुन् ।

समिति सचिव लामिछानेका अनुसार परियार परिवारले सरकारले दिएको पाँच लाखमध्ये हालसम्म तीन लाख रुपैयाँ पाएका छन् । आव ०७१/७२ मा आएको दुई लाख अहिलेसम्म लिएका छैनन् । दुई किशोरीका पक्षमा बोलिदिने कोही नभएकाले राहत रकम पाउन नसकेको लामिछानेले बताए । द्वन्द्वपीडित बालबालिकाले पाउने ६० हजार रुपैयाँ पनि उनीहरूले पाउन सकेका छैनन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal