के तपाईं प्राय आत्तिइरहनु हुन्छ ? के तपाईंलाई सधैंभरी डर लागिरहेको जस्तो महसुस हुन्छ ? हुन्छ भने होशियार है । तपाईलाई ‘आत्तिने रोग’ लोगेको हुनसक्छ ।
सामान्यतया यो कुनै गम्भीर प्रकृतिको रोग होइन, तर यसले मानिसको मनस्थितिलाई बिगारिदिन्छ । यस रोगका विरामी जतिबेला पनि डराउने, सानोतिनो कुरामा आत्तिने प्रवृत्तिका हुन्छन् ।
विशेषगरी मुटुको धड्कन बढ्ने, हातखुट्टा काँप्ने, कतै जानु छ भने आत्तिने, केही काम गर्नुछ भने आत्तिने, मानिसहरुको बीचमा बोल्न डराउने, बोल्न नसक्ने, सानो-सानो कुरामा चिन्ता लिने लगायत यस रोगका प्रमुख लक्षण हुन् । यस रोगलाई ‘एन्जाइटी’ पनि भनिन्छ ।
यस रोग भएका विरामी प्रायः नकारात्मक प्रवृतिका हुन्छन् । उनीहृरुको सोचाई नै नकारात्मक शैलीको हुन्छ । फोन बजेपनि कसैले धम्क्याउनै गर्यो कि भनेर सोच्न थाल्छन् । घरमा कसैले घण्टी बजाए चोर आयो कि भनेर शंका उपशंका गर्छन् । विनाकारण आत्तिन थाल्छन् ।
तर यस्ता व्यवहारलाई हामी प्रायः नजर अन्दाज गरिरहेका हुन्छौं । अन्य कुनै समस्या पो छ कि भनेर विभिन्न अस्पताल भौतारिरहेका हुन्छौ । अन्ततः कुनै रोग नदेखिए हामी निराश बन्छौं ।
ग्राण्डी इन्टरनेशनल हस्पिटलका न्युरो साइकियाट्रिस्ट डा. अनुराग मिश्र यस्ता समस्या पछिल्लो समय धेरै मानिसमा भएको बताउँछन् । उनी भन्छन्, ‘हामीकहाँ आउने प्रायः विरामी पहिले अन्य डाक्टरकहाँ पुगेकै हुन्छन् । र त्यहाँबाट रोगको उपचार सम्भव नभएपछि मात्र हामीकहाँ आउने गर्छन् ।’
मिश्रका अनुसार अस्पतालमा आइसक्दा समेत उनीहरु चिकित्सकको कोठामा जान डराउँछन् । औषधि खानैपर्छ र ? मलाई रोगै लागेको हो त ? भन्ने जस्ता प्रश्न गर्छन् । त्यतिमात्र नभएर कतिपय मानिस यो रोगको औषधि सेवन गर्नाले पागल बनाइदिन्छ, साइड इफेक्ट गर्छ, जिन्दगीभर खानुपर्छ, किड्नी फेल गरिदिन्छ भन्ने भ्रमले समेत ग्रसित बन्न पुग्छन् । परिणामस्वरुप औषधि सेवन गरेको दुई महिनामै त्यसको सेवन बन्द गर्छन् ।
जबकि यो रोग सुरुमै पहिचान भएको खण्डमा नियमित औषधी सेवन गरेको २ देखि ३ हप्ता भित्रमै यसले काम गर्न थाल्छ । नियमित औषधि सेवन गरेको ६ महिनादेखि आठ महिनाभित्रमा रोग निको हुदै जान्छ भने औषधि पुरा नगरमा यो रोग पुनः बल्झन सक्छ । ‘तर बिडम्वना यहाँका मानिस पहिले त आफूमा समस्या छ भनेर स्वीकार्नै चाहँदैनन् । स्वीकारे पनि भएसम्म औषधि सेवन गर्न नपरोस् नै भन्ने सोच्छन्’, डा. मिश्रले अनलाइनखबरसित भने, ‘यस्तो परिस्थितिमा विरामीलाई सम्झाएर पठाउनु जतिको कठिन काम अरु केही हुँदैन’ ।
डिप्रेसन के हो ?
डिप्रेशन मनोरोगको अर्को प्रकार हो । यसमा विरामीहरुले आफूलाई समस्या भएको बताउन चाहँदैनन् । जबकी नेपालमा अहिले डिप्रेशनका विरामी अत्याधिक छन् । डिप्रेशन भनेको नैराश्यपना हो । यो रोग जो कोहीलाई पनि जुनसुकै उमेरमा लाग्न सक्छ ।
सामान्यतया डिप्रेशन र एन्जाइटी रोग मनोरोगका दुई पाटा हुन् । आँप र स्याउ जस्तै । तर औैषधी भने लगभग एकै प्रकारको हुन्छ । फरक यति हो कि एन्जाइटीका विरामी ‘आत्तिन्छन्’ भने डिप्रेशनका विरामी ‘निराश’ भएर बस्छन् ।यसको मुख्य लक्षण भनेकै मन खुशी नहुनु हो । डिप्रेशनका विरामीलाई आफूले गरिरहने जुन काम पनि गर्न मन नलाग्ने हुन्छ । पहिले जुन कुरामा रमाइलो लाग्थ्यो, अब त्यो कुरा गर्न मन लाग्दैन । पहिले जुन कुरामा मानिस खुशी हुन्थ्यो, अब त्यही कुरामा दु:खी हुन थाल्छ । दिनानुदिन निराश हुन थाल्छ । दिएको टार्गेट पूरा गर्न सक्दैन इत्यादी ।
विशेषगरी विदेशमा काम गरेर आउनेहरुमा डिप्रेशनको समस्या बढी देखिन्छ । विदेशमा एक्लै काम गर्नु पर्ने, भाषा नमिल्ने, परिवारसित अलग भएर बस्दा मानिसमा यस्तो समस्या देखिन्छ ।
मनोचिकित्सा शास्त्रमा डिप्रेशनलाई सबैभन्दा ठूलो रोगको रुपमा लिइन्छ । उच्च मनोकांक्षा, व्यस्त जीवन तथा तनावका कारण मानिसहरुलाई डिप्रेशन हुन्छ । यो रोग भारतीय नायिका दिपिका पादुकोणमा पनि देखिएको थियो ।
यो रोग विशेषगरी धनी, केही कुरा हासिल गरेको र अझै हासिल गर्ने इच्छा भएका मानिसलाई लाग्ने गर्छ । यो शहरी क्षेत्रमा बढी देखिने गरेको छ । नेपालमा डिप्रेशन तथा एन्जाइटीका रोगी यत्ति नै छ भन्ने तथ्यांक त छैन । तर यो रोग शहरी भेगमा बढ्दो छ ।
विश्व स्वास्थ्य संगठनको एक रिपोर्टले सन् २०२० सम्ममा विश्वमा सबैभन्दा धेरै बिरामी डिप्रेशनको हुने बताएको छ । यसले विकसित मुलुकको आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पार्ने अवस्था सिर्जना भइरहेको छ । तर हामी भने यसलाई के के न भन्ने सोच्छौ । ठूलै रोग भन्ने सोचेर उपचार गर्न समेत डराउछौं ।
कडा मानसिक रोग
चिकित्सकका अनुसार यस्ता रोगको बेलैमा उपचार नगरे ‘सोम्याटिक डिसअर्डर’ हुने सम्भावना बढी हुन्छ । सोम्याटिक डिसअर्डर भनेको कडा प्रकारको मानसिक रोग हो । यो रोग भएका विरामीमा घाउ त हुदैन तर पनि उसको शरीरको कुनै न कुनै अंग दुखिरहन्छ वा भनौ दुखेको महसुस भइरहन्छ । सामान्य एन्जाइटी, डिप्रेशन भन्दा अलि कडा खालको समस्या यस रोगमा देखिन्छ ।
सोम्याटिक डिसअर्डर भएका व्यक्ति अझ बढी आत्तिन्छन् । अझ बढी डराउँछन् । कतिपय मानिस एक्लै बोल्ने, एक्लै कराउने, छिनमै रुने, छिनमै हास्ने गर्न थाल्छन् ।
‘नेपालीहरुले मनारोगको परिभाषा राम्ररी बुझेका छैनन् । त्यसैले पनि सामान्य बिरामीलाई पनि कडा मानसिक रोगीकै रुपमा हेर्ने गरिन्छ,’ डा. मिश्र भन्छन् ।
डिप्रेशन भएका मानिसलाई मानसिक रोग भएका मानिससित राखिदिदा उसको डिप्रेशन कहाँ पुग्ला ? अझ डराउने तथा नैराश्यता भएको मानिसलाई त कडा मानसिक रोगको शिकार भइस् भनिदिँदा उसको मनमा कस्तो नकारात्मक असर पर्ला ? उसले आफूलाई कसरी हेर्ला ? यो कुरा बुझेर हामीले उसको उपचारमा सहयोग गर्न जरुरी छ । उसलाई सामान्य अवस्थामा ल्याएर उसले गर्न सक्ने काम गर्न मद्दत गर्नु आवश्यक छ ।
त्यसको लागि यस्ता विरामीलाई अन्य सामान्य प्रकारका विरामीसित राखेर उपचार गर्ने पद्धतिको विकास गर्न आवश्यक छ । विशेषगरी नेपालको हकमा यस्ता रोगप्रति मानिसको नकारात्मक सोच छ । जसलाई चिर्नु आवश्यक छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला