ताजा अपडेट:

३ बुँदे मैले ठाडै अस्वीकार गरेको प्रस्ताव हो: प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र एमाओवादीबीच भएको भनिएको ‘३ बुँदे भद्र सहमति’लाई अस्वीकृत प्रस्तावको संज्ञा दिएका छन् ।
राज्य नियन्त्रित नेपाल टेलिभिजनमा बोल्दै ओलीले भने, ‘जुन ३ बुँदेलाई भद्र सहमति भनिएको छ, त्यो मैले अस्वीकार गरेको प्रस्ताव हो ।’
हरेक शनिबार नेपाल टेलिभिजनमा आउने प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन् । हिजोको कार्यक्रममा उनी धेरै बेर राजनीतिक विषयवस्तुमा केन्द्रित भएका थिए । कार्यक्रम सञ्चालक रवी लामिछानेले सुरुमै उनलाई हाल चर्चामा रहेको ३ बुँदे र भद्र सहमतिबारे प्रश्न राखे ।
ओलीले जवाफमा भने, ‘कतिपय सञ्चार माध्यममा मैले यो चर्चा सुनेको छु । बाहिर पनि हल्ला चलेको छ । एमाले र एमाओवादीबीच भएको छलफलका क्रममा ३ बुँदे प्रस्ताव पेश भएको थियो । तर, त्यसलाई मैले त्यतिबेलै अस्वीकार गरिदिएको हो । मैले त्यसैबेला भनेको हुँ, यो प्रस्ताव अनुचित, आपत्तिजनक र मेरो निम्ति अपमानजनक पनि छ । अहिले त्यही तीन बुँदेलाई भद्र सहमति भनेर अखबारले लेखेको देख्दा अचम्मित छु ।’
आफू राष्ट्रिय सहमतिको पक्षमा नै रहेको भए पनि नयाँ सरकार किन र केका लागि भन्ने प्रश्न हुनुपर्ने प्रधानमन्त्रीको विचार थियो । उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय सहमतिका निम्ति सधैं सकारात्मक र प्रयासरत छ । स्थायी समिति वैठकले पनि राष्ट्रिय सहमतिका लागि आह्वान गरेको छ । मैले भन्दै आएको छु कि म प्रधानमन्त्री हुनका लागि नै जन्मेको र मर्दा पनि यो पद लिएरै जाने होइन । मलाई कुर्सीमा लामो समय टिक्न पाए हुन्थ्यो भन्ने पनि केही छैन । तर, जालझेल र तिगडमको जगमा सहमति, सहकार्य र एकता फल्न-फुल्न सक्दैन ।’
ओलीले बर्तमान सरकार राष्ट्रिय स्वाभिमानको जगमा उभिएको र समृद्धिको दिशामा लम्किएको दावी गर्दै भविष्यका सरकारहरुले यो दिशालाई छाड्न नसक्ने उल्लेख गरे ।
‘मलाई राजीनामा दिन दुःख होइन, तर मैले छोडेपछि के हुने ? मेरो नेतृत्वमा देशले ठीक दिशा समातेको छ । यसलाई अघि बढाउने कि व्यवधान गर्ने ? नेतृत्व परिवर्तन भनेर चट्ट छाडिहाल्ने अवस्था छैन । सरकारलाई अस्थिर पार्ने ढंगले मात्र आएका कुरालाई स्वीकार गर्न सकिँदैन । तर भोलि कसैले अहिलेको सरकारले भन्दा बढी दृष्टिकोण दिने, विकास निर्माणको कुरा गर्ने तथा राष्ट्रिय एकता र हित सुदृढ गर्छु भनेर तथ्यपरक एवं प्रमाणित ढंगले आउँछ भने हामी बाधक बन्दैनौं ।’
ओलीले एमाले र एमाओवादीबीच भएको औपचारिक ९ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार रहेको उल्लेख गरे । उनले भने, ‘९ बुँदे कार्यान्वयन गर्छौं, हाम्रो कुरा यत्ति हो ।’

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal