मौसममा देखिएको फेरवदलका कारण करिब एक हप्तादेखि बालबालिकामा भाइरल ज्वरोको संक्रमण देखिन थालेको छ । अस्पताल जाने बालबालिकामध्ये झण्डै पचास प्रतिशत बालबालिकामा यसको संक्रमण देखिएको हो ।
बद्लिदोे मौसम, वायु प्रदुषण तथा दुषित पानीका कारण बालबालिकामा भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । हाछ्युँ गर्दा, नजिकै बस्दा, ज्वरो आएको व्यक्तिले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा यो रोग एकआपसमा सजिलै सर्छ ।
विशेषगरी कमजोर शारिरिक अवस्था भएका बालबालिकामा रोगसित लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । परिणाम स्वरुप हावामा तैरिरहने यसको जीवाणु मानिसको शरीरमा पस्दा त्यसले शरीरलाई कमजोर बनाई संक्रमण निम्त्याउँछ ।
यसबाट ग्रसित बालबालिकामा आँखा रातो हुने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखा पर्छन् । यसले बालबालिकामा वान्ता गराउने, खान मन नलाग्ने, पेट दुख्ने लगायतका समस्या उत्पन्न गराउँछ ।
‘हेर्दा सामान्य जस्तो देखिने यो संक्रमण कतिपय बालबालिकामा जटिल बन्दै गएको छ’, हेल्पिङ्ग ह्याण्डस् अस्पतालका कन्सल्टेण्ट चिकित्सक डा.प्रदिप जोशी भन्छन्, ‘विशेषगरी प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा यसका कारण टाइफाइड, निमोनिया, जण्डिस लगायतका अन्य समस्या देखिन थालेको छ ।’
यसबाट बच्न बालबालिकालाई प्रदुषण तथा अशुद्ध पानीबाट टाढै राख्नुराख्नु पर्ने चिकित्सकको सुझाव छ । विशेषगरी काठमाडौमा हरेक दिन संक्रमित बालबालिकाको संख्या बढिरहेको अवस्थामा यसतर्फ ध्यान दिनु झनै जरुरी भएको अर्का चिकित्सक डा. सञ्जयराज थापा बताउँछन् ।
ग्राण्डी अस्पतालका बालरोग विशेषज्ञ डा. थापा भन्छन्, ‘बदलिदो मौसम तथा प्रदुषणका कारण बालबालिकामा सजिलै फैलने यस्ता संक्रमण रोकथामका लागि बालबालिकालाई दुषित पानी तथा फोहरमैलोबाट बचाउन जरुरी छ ।’ त्यसबाहेक यस रोग विरुद्धको खोप लगाएको अवस्थामा पनि उनीहरुलाई जटिल समस्याबाट बचाउन सकिने उनको भनाइ छ ।
डा. थापाले यस्ता रोगबाट बच्न प्रशस्त मात्रामा उमालेको पानी पिउनु पर्नेमा जोड दिए । त्यसैगरी संक्रमित व्यक्तिको वरिपरि नगए, संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल भरसक अन्य व्यक्तिले प्रयोग नगरे तथा मुख छोपेर हाछ्युँ गरेको खण्डमा पनि यो रोग अन्य व्यक्तिमा रोग सर्ने खतरा कम हुन्छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला