तपाईंलाई राजेश हमालसँग कुरा गर्न मन लाग्यो कि बाराक ओबामासँग । फेसबुक वा ट्विटरमार्फत यस्ता सेलिब्रेटीसँग जोडिन सहज छ । सम्भव भएसम्म उनीहरूले प्रत्यक्ष कुराकानी गर्न प्रयास पनि गर्लान्, तर सबै प्रशंसकलाई एक–एक गरी जवाफ दिन उनीहरूका लागि सम्भव भने हुँदैन । यी सबै समस्याको समाधानका रूपमा आउँदै छ बोट्स । कुनै व्यक्तिका बारेमा मात्र होइन, कुनै वस्तु वा उत्पादन र समग्र विषयका बारेमा जान्न यसको उपयोग गर्न सकिन्छ ।
मानिसले पहिले कम्प्युटर, वेबसाइट वा एप्स प्रयोग गरे जसरी आगामी दिनमा बोट्स प्रयोग गर्नेछन् । हाल वेबसाइट र एप्सको सहयोगले मानिस र कम्प्युटरबीच अन्यौन्याश्रित सम्बन्ध स्थापित भएको छ । मानिसले आफ्ना आवश्यकता पूरा गर्न म्यासेन्जर, बीच्याट, ह्वाट्सएप, किकजस्ता सोसल म्यासेजिङ सर्भिस प्रयोग गरिरहेका छन्, तर पटक–पटक वेबसाइट वा एप्स खोल्नुको सट्टा अर्को सहज उपाय भए कति आनन्द होला ?
पिज्जा खान मन लाग्यो भने पिज्जाको वेबसाइटमा गएर फोन नम्बर पत्ता लगाउने, मेनु हेर्ने अनि फोन गर्ने र मानिस गएर पैसा तिरेर पिज्जा लिने । यो एउटा झन्झटिलो प्रक्रिया हो । यसको सट्टा पिज्जाको बोट्समा जान सकिन्छ । पिज्जाको बोट्समा भेराइटीअनुसार रेन्ज छनोट गरी आवश्यकताअनुसार प्रश्न सोध्ने हो भने तुरुन्तै उत्तर पाइन्छ । त्यसपछि अर्डरको पोस्टमा क्लिक गरेर पैसा तिरेपछि तुरुन्तै आफ्नो टेबुलमा पिज्जा आइपुग्नेछ ।
ट्याक्सी प्रयोगका लागि विश्वका विभिन्न देशमा ‘उबर’ तथा भारतमा ‘ओला’ जस्ता एप्सका प्रयोगकर्ता प्रशस्तै छन्, तर अब यस्ता एप्स प्रयोग गर्नुपर्ने बाध्यता हुने छैन । यसका लागि ट्याक्सीको बोट्समा जाँदा सबै कुरा थाहा पाउन सकिनेछ । पैसा कसरी तिर्ने र सुविधा कसरी लिने भन्ने कुराको व्यवस्था बोट्स निर्माता कम्पनीले नै गरेका हुन्छन् ।
बोट्स एक प्रकारको आर्टिफिसियल इन्टिलिजेन्स हो । यसले मानिस र मेसिन बीचको सम्बन्धलाई जोड्छ । यसलाई एक प्रकारको वेब रोबोट पनि भन्न सकिन्छ । खासमा यो म्यासेजको जवाफ दिने प्रोग्राम हो । हामीले प्रयोग गर्ने फेसबुक म्यासेन्जर, बीच्याट, ह्वाट्सएप आदिमा मानिसले नै जवाफ दिन्छन् भने बोट्समा कम्प्युटरमा भएको प्रोग्राम आफैले जवाफ दिन्छ । विभिन्न प्रकारका सेवा उपलब्ध गराउने कम्पनीले आफ्नै नाममा विभिन्न बोट्स डिजाइन गर्न सक्छन् । जस्तो कि सपिङका लागि सपिङ बोट्स, सल्लाह दिन एड्भाइजरी बोट्स आदि ।
कतिपय कम्पनीले बोट्स प्रयोगका लागि प्रक्रिया प्रारम्भ गरिसकेका छन् । फेसबुकले पनि आफ्नो म्यासेन्जरमा बोट्सको प्रयोग गर्ने तयारी गरेको छ । हाल फेसबुकले ‘एम’ नामक भर्चुअल असिस्टेन्ट बोट्स प्रयोगमा ल्याएको छ । यद्यपि यो केही व्यक्तिका लागि मात्र उपलब्ध छ र हाल मानिसबाटै सञ्चालित छ । किक म्यासेन्जरले हालै बोट स्टोर उपलब्ध गराएको घोषणा गरेको छ । यसले भाइन भिडियो पठाउने र मेकअपसम्बन्धी सुझाव दिन्छ । ट्विटरले भूकम्पका बारेमा ट्विट गर्ने गरी बोट्स उपलब्ध गराएको छ ।
कुनै पनि कम्पनीले वेबसाइट वा एप्स बनाए जसरी बोट्स पनि बनाउन सक्छन् । कुनै पनि सफ्टवेयर प्रोग्रामरले आफ्नो वा ग्राहकको आवश्यकता अनुसार बोट्स बनाउन सक्छन् । कम्पनीहरूले यसका लागि प्लेटफर्म पनि उपलब्ध गराउनेछ । हाल फेसबुक, किक, ट्विटरजस्ता म्यासेजिङ एप्समा धेरै कम्पनीले बोट्स निर्माण गरिसकेका छन् । छिट्टै स्काइप, गुगल ह्याङआउट, लाइन, भाइबर आदिमा बोट्स उपलब्ध हुने बताइएको छ ।
बिस्तारै नेपालमा पनि बोट्सको प्रयोग बढ्दै जानेछ । उदाहरणका लागि एनलोकेटले बोट्स प्रयोग गरी आफ्नो सेवाका बारेमा जानकारी दिन सक्छ । टाटा मोटर्सले आफ्ना सबै गाडीका बारेमा बोट्सबाटै जानकारी दिन सक्छ ।
एनलोकेटका मनोज घिमिरे एनलोकेटले पनि आफ्नो छुट्टै बोट्स बनाउन सक्ने र आफ्ना सबै सेवाका सम्बन्धमा त्यही बोट्समार्फत जानकारी दिन सहज हुने कुरा बताउँछन् । विभिन्न स्थानमा भएका विभिन्न सेवाप्रदायक संस्थाका बारेमा जानकारी लिन मानिसले हाल प्रयोग गरिरहेको एनलोकेट एप्सको सट्टा एनलोकेट बोट्स प्रयोग गर्नेछन् । त्यसो भयो भने ग्राहकले कुनै प्रश्न टाइप गरेर सोध्यो भने त्यसको उत्तर पनि तुरुन्तै त्यही बोट्स मार्फत पाइन्छ । अनि भएन त मज्जा ? अहिले एप्स प्रयोगकर्ताले कुनै प्रश्न टाइप गरेर सोध्न र उत्तर प्राप्त गर्न सक्दैन । बोट्सको मुख्य विशेषता नै यही हो ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले एक सन्दर्भमा भनेका छन्, ‘बोट्सको विकास सेलिब्रेटी तथा व्यापारीहरूका लागि मानिसहरूसम्म पुग्ने सहज माध्यमका रूपमा हुँदैछ । चाँडै नै तपाईंलाई आफ्नो फेभरेट स्टारका बारेमा सबै प्रश्नको जवाफ दिन फेसबुकमा बोट्स उपलब्ध हुन सक्छ ।’
प्रतीक्षा गरौं, कुनै दिन हामीले पनि बोट्स प्रयोग गर्ने दिन आउनेछ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला