टि्वटरले आफ्नो टि्वटको लिमिटलाई १४० क्यारेक्टरबाट बढाउने नबढाउने विषयमा विभिन्न खाले अड्कलबाजी चलिरहेका बेला उसले प्रयोगकर्तालाई पहिले भन्दा लामो भिडियो अपलोड गर्ने सुविधा प्रदान गरेको छ ।
अबदेखि टि्वटरमा १ सय ४० सेकेण्डको भिडियो अपलोड गर्न सकिने भएको छ । आम प्रयोगकर्ताले १४० सेकेण्डको भिडियो अपलोड गर्न पाउनेमा कतिपयले भने १० मिनेटसम्मको भिडियो अपलोड गर्न सक्नेछन् ।
टि्वटरमा अहिलेसम्म ३० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिन्थ्यो । भिडियो अवधि बढाएर टि्वटरले १४० सेकेण्डसम्म पूराएको छ र यो नियम टि्वटरको भिडियो स्ट्रिमिंग सर्भिस भाइनमा पनि लागू हुनेछ । यसअघि भाइनमा ६ सेकेण्ड सम्मको मात्र भिडियो हाल्न सकिन्थ्यो ।
एक ब्लग पोष्टमा टि्वटरका इन्जिनियरिंग विभागका उपाध्यक्ष जेरेमीले भनेका छन्ः टि्वटरमा भइरहेको रियल टाइम सम्वादमा भिडियोले मूख्य भूमिका निभाइरहेको छ । टि्वटरले टि्वटर इन्जेग नामक नयाँ एप पनि लञ्च गरेको छ । जसबाट प्रकाशकहरुले आफ्ना फलोअर्ससँगको संवादको विश्लेषण गर्न सक्दछन् ।
केही दिनअघि मात्र टि्वटरले मेसिन लर्निंग प्रविधिमा काम गर्ने स्टार्टअप कम्पनी म्याजिक पोनी टेक्नोलोजी खरीद गरेको थियो । यो कम्पनी तस्वीर तथा भिडियो सामाग्रीमा केन्द्रित छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला