ताजा अपडेट:

देश प्राकृतिक स्रोतले भरिपूर्ण छ, व्यवस्थापन गर्न सकेनौं: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका धेरै अवसर तथा अधिकार प्राप्त भइसकेकाले अब ढुक्क भएर त्यसतर्फ लाग्न आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसङ्घ र हिमालय टेलिभिजनको संयुक्त आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको नेपाल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘लगानीको वातावरण बनेको छ, निर्धक्क भएर लगानी गर्नुहोस् ।’
प्रधानमन्त्री ओलीले उद्योग धन्दा खोल्ने वातावरण बनाएर उत्पादन बढाइ छिमेकका दुई ठूला राष्ट्रमा निर्यात गर्न सके मुलुक आत्मनिर्भरतातर्फ जाने उल्लेख गर्दै व्यापार असन्तुलनलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए।
‘देश प्राकृतिक स्रोतले भरिपूर्ण छ, व्यवस्थापन गर्न हामीले सकेनौं, स्वदेशमै मेहनती कहलिन कृषि, उद्योग, पर्यटनमा आधुनिकीकरण गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।
नेपाल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा विकासतर्फको प्रस्थान बिन्दु हुनुपर्छ भन्ने लक्ष्य लिइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपाल निर्माणका लागि साधारण खर्च कम गरी विकास बजेट वृद्धि गरिनुपर्नेमा जोड दिए।
सो अवसरमा हिमालय टेलिभिजनका अध्यक्ष ललितकुमार अग्रवाल र शङ्कर ग्रुपका अध्यक्ष साहिल अग्रवालले नेपाल निर्माणका लागि उद्योग धन्दा स्थापनाको वातावरण बनाइदिन सरकार एवम् राजनीतिक दलसँग माग गरे ।
शानिबारसम्म चल्ने सो कार्यक्रममा नौ समूहमा छलफल गरी आएका निष्कर्ष सरकारलाई पनि बुझाइने जानकारी गराइयो ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal