विहिवार एसएलसी परिक्षाको नतिजा सार्वजनिक भयो । यसपटक पास र फेलको अवधारणा खारेज गरिए पनि नतिजाले कसैलाई खुशी र कसैलाई दुःखी त बनायो नै ।
खुशी भए पनि दुखि भए पनि अब यहाँबाट अघि बढेर आगामी बाटो तय गर्नुपर्ने मोड आएको छ । विशेषगरी ११ कक्षा भर्ना हुन योग्य विद्यार्थीहरु कुन विषय रोज्ने भन्नेमा अब केन्द्रित हुनेछन् । यस क्रममा उनीहरुको मन-मस्तिष्कमा पक्कै द्विविधा र अलमलले राज गर्नेछ ।
यस्तो बेलामा कसरी तनावरहित ढंगले निर्णय लिने र आफ्नो भावि बाटो तय गर्ने त ? हामीले मानसिक स्वास्थ्य विशेषज्ञ डा. सरोज प्रसाद ओझासँग सुझाव मागेका छौं । उनको सुझाव जस्ताको तस्तैः
एसएलसी दिएका विद्यार्थी भर्खर युवावस्थामा पुगेका हुन्छन् । उनीहरुमा परिपक्वता आइसकेको हुँदैन । यस्तो अवस्थामा भविष्यमा के पढ्ने भनेर रोज्ने जिम्मेवारी उनीहरुमै छोडिदिनु त्यति राम्रो मानिँदैन ।
यसको लागि पहिला त विद्यार्थीले आफूलाई के पढ्न इच्छा छ, त्यो हेर्नुपर्यो । त्यसपछि उसले पढ्न खोजेको विषय पढाउने हैसियत परिवारको छ कि छैन भनेर छोराछोरी र अभिभावक दुवैले हेर्नुपर्यो । त्यसपछि बच्चाले पढ्न चाहेको विषय पढ्न सक्ने क्षमता उसभित्र छ कि छैन, त्यो विषय आफुलाई आवश्यक छ कि छैन हेर्नुपर्यो ।
त्यसैगरी अभिभावकहरुले आफ्ना छोराछोरीको पूर्वशिक्षक-शिक्षिकासित भेटेर उसले पढ्न चाहेको विषयबारे सल्लाह गर्दा पनि लाभदायक हुन्छ । किनकी उक्त बच्चाको पढाईलाई उसले पढेको स्कुलका शिक्षकले जति बुझेका हुन्छन्, त्यो अरुले बुझ्न सक्दैनन् ।
त्यसैगरी उसमा अन्य कुनै लुकेको प्रतिभा छ, खुवी छ तर, उसले अभिभावकसमक्ष व्यक्त गर्न सकेको छैन भने त्यो पनि थाहा पाउने अवसर मिल्दछ । जसले उसलाई सही दिशातर्फ डार्याउन सघाउ पुर्याउँछ । जुन बालबालिकाको क्षमता अभिवृद्धि तथा भविश्य निर्माणमा महत्वपूर्ण छ ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला