कुनै वन्यजन्तु मार्ने वा रूख बिरुवा काट्ने मनसायले हातहतियार बोकेर निकुञ्ज/आरक्षभित्र प्रवेश गर्नुभएको छ भने होसियार १ तपाईं केही मिनेटमै सेना र निकुञ्ज अधिकारीको घेरामा पर्न सक्नुहुनेछ ।
निकुञ्ज/आरक्ष प्रवेश गरी वन्यजन्तु र अन्य जैविक–विविधता विनाश गर्न खोज्ने/गर्ने व्यक्ति र समूहलाई नियन्त्रणमा लिन अत्याधुनिक ‘पोचर क्याचर क्याम (क्यामेरा)’ जडान गर्न सुरु गरिएको छ । सुरुमा पर्सा वन्यजन्तु आरक्षमा जडान गरिएको हो ।
चोरी सिकारीको नियतले बन्दुकसहित पर्सा वन्यजन्तु आरक्षको हलखोरिया क्षेत्रमा प्रवेश गरेका केही मानिस यो क्यामको फन्दामा परिसकेका छन् । पोचर क्यामले फोटो खिचेर पठाएपछि उनीहरू अहिले निकुञ्जको उच्च निगरानीमा छन् ।
अत्याधुनिक स्वचालित पोचर क्याम (क्यामेरा) निकुञ्ज/आरक्ष भित्रका रूखमा झुन्ड्याइएको हुन्छ । कुन रूखमा कहाँ क्यामेरा छ भन्ने निकुञ्जका कर्मचारीलाई समेत थाहा हुँदैन । तर, यो क्यामेराको क्षेत्रमा मानिस पुग्नासाथ यसले फोटो खिच्छ ।
यसरी खिचेको फोटो सफ्टवेयरका माध्यमले तीन मिनेटभित्र निकुञ्ज/आरक्षको कार्यालयमा राखिएको कम्प्युटरमा देखिन्छ । कार्यालयमा दुई कर्मचारी यसकै लागि खटाइएका छन् ।
अहिले पर्सा वन्यजन्तु आरक्षको हलखोरिया क्षेत्रमा मात्रै जोडिएको भए पनि आरक्षका अन्य क्षेत्रमा पनि जोडिने तयारी थालिएको छ । पर्सापछि बर्दिया र बाँके निकुञ्ज तथा शुक्लाफाँटा वन्यजन्यु आरक्षमा पनि पोचर क्याम जडान गरिँदैछ । एउटा निकुञ्ज/आरक्षमा ३० देखि ४० स्थानसम्म यो प्रविधि जोडिने छ ।
‘मानिसले नदेख्ने गरी रूखमा झुन्ड्याइएका क्यामेराले जंगलभित्र कोही व्यक्ति जाने बित्तिकै तीन मिनेटभित्रै जीपीएस लोकेसन र तस्बिर खिचेर सर्भरमा पठाउँछ,’ पर्सा वन्यजन्तु आरक्ष, आधाभारका सहायक वार्डेन तथा उक्त प्रविधिका टिम लिडर अशोक रामले कान्तिपुरलाई भने, ‘तस्बिर आएलगत्तै तैनाथ टिमले उक्त प्रविधिले दिएको जीपीएस लोकेसन नजिकको सुरक्षा पोस्टलाई खबर गरेपछि त्यस्ता व्यक्तिलाई केहीबेरमै समात्न सकिन्छ ।’
निकुञ्ज/आरक्षमा स्मार्ट पेट्रोलिङ हुने र जीएसएम सेट हुने भएकाले पनि शंकास्पद व्यक्ति भएको स्थानमा सेना र कर्मचारीका अधिकारी सजिलैसँग पुग्न सक्छन् ।
सेनाले सुरु गरेको ‘स्मार्ट पेट्रोलिङ’ भनेको सेनाले निकुञ्ज/आरक्षको कुन कुन स्थानमा गस्ती गरिरहेको छ भनेर काठमाडौं र निकुञ्ज मुख्यालयबाटै अवलोकन गर्न सकिने प्रविधि हो । जसले ‘पोचर्स क्याम’ले कैद गरेको व्यक्ति समात्न थप मद्दत गरेको छ ।
‘पोचर क्याम’ प्रविधि अनुगमनका लागि कार्यालयमा ‘र्यापिड रेस्पोन्स टिम’ खडा गरिएको छ । त्यसमा एक जना निकुञ्ज/आरक्षका सहायक वार्डेन र सुरक्षार्थ तैनाथ एक सेनाको मेजर रहनेछन् । पर्सा वन्यजन्तु आरक्षमा अशोक ‘टिम लिडर’ हुन् ।
केही दिनअघिदेखि पर्सा वन्यजन्तु आरक्षमा परीक्षण गरिएको यस प्रविधिले दिनमै ५० देखि ६० जना मान्छेको तस्बिर खिचेर सर्बरमा पठाएको छ ।
‘दिनहुँ तस्बिरहरू प्राप्त भइरहेका छन्,’ सहायक वार्डेन अशोकले भने, ‘हामी तिनलाई विश्लेषण गर्छौं र शंका लाग्नेबित्तिकै टोली खटाएर समात्छौं । यो क्यामेराले मान्छेको मात्रै तस्बिर खिचेर पठाउँछ, वन्यजन्तुको खिच्दैन । १० मिटर टाढाको व्यक्तिको समेत तस्बिर खिच्नु यसको अर्को विशेषता हो ।
ती तस्बिरलाई सूक्ष्म किसिमले अध्ययन गर्न कार्यालयको सर्बरकक्षमा ठूलो स्क्रिन राखिएको छ । जसले गर्दा तस्बिरमा सम्बन्धित मान्छेले के–के वस्तु बोकेर जंगल प्रवेश गरेको छ र उसको हुलिया कस्तो छ भनेर हेर्न सजिलो हुनेछ ।
यो प्रविधि वन्यजन्तु संरक्षणमा सहयोग गरिरहेको ‘जुलोजिकल सोसाइटी अफ लन्डन, नेपाल’ (जेडएसएल नेपाल) ले राष्ट्रिय निकुञ्ज विभागलाई हस्तान्तरण गरेको हो ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला