ताजा अपडेट:

चर्चित उपन्यास सल्लीपिरको अंशः जुठो छयाङ

उनीहरुले अन्तिम साँघु तरे र तिब्बतको सिमाना सुरु भयो । यसअघि नै चौकीबाट उनीहरुले तिब्बतबाट सामान ल्याउन पाउने सरकारी पास बनाइसकेका थिए ।

दावाले टाढाटाढासम्म देखिने सिमानापारिका गाउँहरु देखाएर पेमासित भन्यो— ‘पहिला ती गाउँहरु नेपालकै थिए । यिनै मध्यै कुनै गाउँ हाम्रो हुँदो हो । तर, उहिल्यै सिमाना छुट्याउन आएको नेपाली कर्णेलले अलिकति कस्तुरी घुस लिएर त्यतिका जमिन चिनतिर पारिदिएछ । नेपालतिरै भइदिएको भए कति सजिलो हुन्थ्यो हामीलाई ! त्यहाँको चरनमा त घाँस पनि असाध्यै हुन्छ ।’

पेमाले दावाका बाउबाजेले गुमाएको बस्तीलाई आँखाभरि हेरी । नमिठो लाग्यो उसलाई । दावाले पनि धेरै बेरसम्मै मन अमिलो पारेर त्यता हेरिरह्यो ।

सात दिन लगातार हिँडेपछि तिब्बतको सिमानामा पुगेका थिए उनीहरु । उनीहरुले सिमानामा बसेका तिब्बती सरकारी कर्मचारीहरुलाई आफूसँग भएका ठेकीका ठेकी घिउ जिम्मा लगाए । पेमा छक्क परी । दावाले सम्झायो— ‘एउटा चौरी बराबर सय रुपियाँ थराल तिर्नु पर्छ । कर तिर्ने पैसा हामीसित कहाँ हुनु ! त्यसैले त्यति पैसा बराबरको घिउ नै दिनुपर्छ । यहाँको नियम यही हो । यति तिरेपछि मात्र तिब्बततिरको खर्कमा हामीले चौरी लैजान पाउँछौं ।’

+

तीन महिना त्यतैत्यतै बित्यो दावा र पेमाको । चौरीहरुले त्यहाँका खर्कका स्वादिला घाँसहरु टन्नै खान पाए । पेमाले घिउ र छुर्पी पनि प्रसस्त बनाई । त्यही बेचेको त्यही पैसाले रियु बजारबाट केही खाधान्न किने । चिनी र सलाई पनि किने ।

पेमालाई तिब्बत पुग्नुअघि नै दावाले भनेको थियो— ‘फे पुगेपछि जास्ता खेती देखाउँछु ।’

पेमालाई नुनको पनि खेती हुन्छ भन्ने थाहा थिएन । फे आएपछि दावाले उसलाई नुन खेती देखाउन लग्यो ।

नुनिलो पानीको मूललाई कुलो बनाएर खेतखेतसम्म ल्याइँदो रहेछ । पानीको माथिमाथि धुलोजस्तो जमेर बस्दोरहेछ नुन त । त्यसैलाई फेरि एक ठाउँमा थुपारिँदोरहेछ । पेमा छक्क परी । दावाले झन्डै वर्ष दिनलाई पुग्ने नुन किन्यो र बोरामा भरेर जेक्पेको पिठ्युँमा राखिदियो । अरुले पनि त्यसै गरे ।

जीवनमा पहिलो पल्ट रियु बजारमा पेमाले देखी पाङ्ग्रा भएको मान्छे ओसार्ने गाडी । अचम्म मानी उसले । टाढाटाढासम्म जाँदा पनि हिँड्नै नपर्ने, गाडीले गुडाउँदै लैजाने । दावाले उसलाई ट्रकमा बसाएर सेन बजारसम्म मेला देखाउन लग्यो । 


रियु बजारमै दावाले पेमाको लागि नयाँ बक्खु किनिदियो । ग्याल्जेनकी आमा छिमीका लागि नयाँ मटिल पनि किन्यो । पेमाले घरमै छँदा काठका केही फुरु बनाएकी थिई । उसले त्यो फुरु बेची र त्यसबाट आएको पैसाले दावाको लागि भुत्ला भएको न्यानो टोपी पनि किनिदिई ।

‘यो स्यमुङ त तिम्रो मायाको चिनो सम्झेर जिन्दगीभरि लगाइरहन्छु ।’

पेमा लजाई । तर, अझै लाज मान्नु पर्ने त अर्को कुरा थियो । जति लाज माने पनि दावालाई नभने कसलाई भन्ने ! पेमाले भुइँतिर हेरेर सुस्तरी भनी— ‘महिनावारी रोकिएको छ मेरो ।’

‘किन ?’ दावाले एकछिन त कुरै बुझेन । पेमा झनै लजाई । सानो छँदा एकदिन उसको साथी कर्माले भनेको थियो— ‘पालुको जुठो छ्याङ खाएपछि मेरी आमाको पेट ठूलो भयो र म जन्मिएँ ।’

अतीतको त्यही संवाद फेरि काम लाग्यो । पेमाले लाज मान्दै दावासित भनी— ‘अस्ति तिम्रो जुठो छ्याङ खाएकी थिएँ नि । त्यसैले मेरो महिनावारी रोकिएको ।’

बल्ल पो कुरो बुझ्यो दावाले । मख्ख प¥यो । उसको फुर्तिफार्ति नै अर्कै भयो । त्यही बजारमै उसले निकै उत्साहसाथ बच्चाका लागि केही न्याना लुगा किन्यो । बच्चाकै लागि ऊनको टोपी पनि किन्यो । दावाले टोपी सुम्सुम्याउँदै भन्यो— ‘अब एक महिनामा पुगिन्छ घर । त्यसपछि त तेस्रो महिनादेखि तिम्रोे पेटमा हाम्रोे मायाको चिनो चल्न थालिहाल्छ ।’

राति फेरि दुवैले एकअर्काको जुठो छ्याङ खाए । माया झन् गाढा भयो । मनभित्र सेताम्यै हिउँ कमलहरु फक्रिए ।

+

सेन बजारमा मेला हेर्न जाने बेलासम्म तेन्जी दावाहरुसितै थियो । तर त्यहाँबाट ऊ साथीहरुसित छुट्टियो । मेलाबाट फर्किने बेलामा दावाहरुले खुबै खोजे उसलाई । कतै भेटेनन् । लाचार भएर रियु फर्किए । तर तेन्जी आएन । कता हरायो भयो कता ! सँगै आएको साथी यसरी बेपत्ता भइदिँदा सबै गोठालालाई पिर परेको थियो । तेन्जीको सिमापास पनि दावाहरुसितै थियो । यसरी अर्काको देशमा बिना कागज हिँड्डुल गर्दा कतै तिब्बती पुलिसले समातेर जेलमा पो हालिदिए कि भन्ने शङ्का पनि भयो सबैलाई । फेरि सँगै आएको साथी हरायो भनेर पुलिसमा खबर गर्दा उल्टो आफूहरु नै समस्यामा परिने डर पनि थियो ।

नाङसेरेले पिर पोख्यो— ‘यहाँका पुलिस त हेर्दामात्र देउताजस्ता देखिन्छन् । कानुन मिच्नेलाई त राक्षसै जसरी पिट्छन् । जेलैमा बेपत्ता पारिदिन्छन् ।’

दावा र अरु गोठालाहरुको ओठमुख सुकेको देखेर पेमाको मन पनि टिम्मुरजस्तै पर्पराउँथ्यो । तर तेन्जीलाई पर्खिनु बाहेक उनीहरुसित अर्को कुनै उपाय थिएन । बाटोमा रेन्जर र गाविस सचिबबाट उसैले सबैलाई जोगाएको थियो । त्यति गुनिलो साथीलाई पराइ देशमा कसरी छाडेर जाने ? सबै अलमलमा परे ।

तर दशौं दिनमा कता–कताबाट ङिच्च पहेँला दाँत देखाउँदै आयो तेन्जी । दावाले रिसाएर उसको पुठोमा बेस्मारी लात हिर्कायो । अरु गोठालाले पनि त्यसरी नै उसको पुठोमा लात लगाए । तर दुख्यो भनेन तेन्जीले । हाँसेरै बसिरह्यो ।

तेन्जीसँगै एउटी तिब्बती केटी पनि थिई । होची होची तर हिस्सी परेकी । आँखा असाध्यै चम्किला थिए । पेमाले सोधी— ‘को हो यो केटी ?’

लाज पचाएर भन्यो तेन्जीले— ‘भाउजूलाई गाउँ फर्कँदा साथी हुन्छ भनेर ल्याइदिएको नि यसलाई । मलाई देखेर मरिहत्ते गरी यसले । यहीँ बिहे गरेँ मैले त । ससुराली यतै भयो भने पछिपछिलाई आउजाउ गर्न पनि सजिलो ।’

तेस्रो दिन केटी बिहानै बेपत्ता भई । तेन्जी छक्क प¥यो । उसले आफ्नो पोको छाम्यो । ध्यु र छुर्पी बेचेर आएको सबै पैसा गायब थियो । ऊ दौडादौड ससुराली गयो । साँझ जीउभरि नीलडाम र अनुहार पनि घाउ लिएर फर्कियो । बेस्मारी भकुरेछन् केटीका आफन्तले ।

रुन त मन थियो तेन्जीलाई । तर आफैंले यति ठूलो मुर्खता गरिसकेपछि साथीभाइका आगाडि धक फुकाएर रुने आँट आएन उसलाई । ऊ ङिच्च हाँस्यो र भन्यो— ‘केटी खराब रहिछ । यसको त कामै रियु आएका शेर्पाहरुलाई लुट्नु रहेछ । मभन्दा अगाडि पनि कतिजनासित बिहे गरिसकेकी रहिछे । धन्न समयमै थाहा पाएँ । नत्र यसले त मेरो जिन्दगी नै बर्बाद गरिदिने थिई । देउताले जोगाए मलाई ।’

यसपटक कसैले पनि ऊप्रति सहानुभूूति देखाएनन् । सबै उसको जीउभरिको नीलडाम हेर्दै गलल्ल हाँसे । अरु हाँसेपछि भने केहीबेर तुरुक्क रोयो तेन्जी । गोठालाहरुलाई साथी रोएको कहाँ मन पर्छ र ! सबै मिलेर तेन्जीको भागको किनमेल गरिदिए ।

एकअर्कालाई सहयोग गर्न पाउँदा सेछेन गाउँका गोठाला साह्रै खुसी हुन्छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal