ताजा अपडेट:

पाँच सय र हजारका भारु नोट भारतमै प्रतिबन्धित

नयाँ दिल्ली । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजेबाटै पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् ।
जाली नोट कारोबारीलाई निरत्साहित गर्न भारतले आफ्नै मुलुकभित्र त्यस्ता नोट प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको जनाएको छ । यसअघि भारतको अनुरोधमा नेपाल सरकारले बर्षौंदेखि नेपालभित्र पाँच सय र १ हजार भारतीय रुपैयाँको नोट प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
टेलिभिजन सम्बोधनमा मोदीले त्यस्ता नोट साथमा भएका प्रयोगकर्ताहरुले डिसेम्बर ३० तारिखभित्र बैंकमा जम्मा गर्न अनुरोध गरेका छन् ।
सरकारले पुराना नोटको सट्टा नयाँ पाँच सय र २ हजार दरका नोट प्रयोगमा ल्याउने छ । पुराना नोटको सट्टा नयाँ नोट प्रयोगमा ल्याउन बुधबार भारतका अधिकांश बैंकहरु बन्द रहनेछन भने एटीएमले पनि काम गर्नेछैनन् । सर्वसाधारण सुविधालाई ध्यान दिँदै दुई दिनसम्म अस्पतालहरुले पुरानै पाँच सय र एक हजारका नोट स्वीकार गर्नेछन् ।
टेलिभिजन सम्बोधनमा मोदीले कालोधन, भ्रष्टाचार र नक्कली नोटको कारोबार नियन्त्रणका लागि यस्तो कदम चाल्नुपरेको बताएका छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal